६७ रास्वपा उम्मेदवार विजयी, चुनावमा हार्नेमा शीर्ष नेताहरू धेरै

२७ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो धक्का दिएको छ। देशभरबाट प्राप्त मतपरिणाम र मतान्तरको तथ्याङ्क अनुसार रास्वपाका ६७ उम्मेदवारले २० हजारदेखि ५० हजारभन्दा बढी मतान्तरसहित सानदार जित हासिल गरेका छन्। परम्परागत शक्तिहरू—नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र—का शीर्ष नेताहरू ठूलो अन्तरले पछि परेका छन्। यसै क्रममा ५० हजारभन्दा बढी मतान्तरमा विजयी हुने प्रमुख उम्मेदवार रुपन्देही–३ का डा। लेखजंग थापा हुन्। उनले कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मत अन्तरमा पराजित गरेका छन्। डा। थापाले ५८ हजार ८ सय १४ मत ल्याए भने गुरूङले मात्र ८ हजार ४ सय ३५ मत पाएका थिए।

त्यस्तै, ४०–५० हजार मतान्तरमा विजयी हुने उम्मेदवारहरू झापा–५ का बालेन शाहदेखि मोरङ–६ कि रुबिना आचार्यसम्म छन्। पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा बालेन शाहले ४९,६१४ मत अन्तरले हराए। बालेनले ६८ हजार ३ सय ४८ मत ल्याए भने ओलीको जम्मा १८ हजार ७ सय ३४ मत थियो। यस क्षेत्रअघि ओलीले ६ पटक निर्वाचन जितिसकेका थिए। झापा–४ मा रास्वपाकी इन्दिरा राना मगरले ४८,७४२ मत अन्तरमा पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गरिन्। इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् भने घिमिरेको ११ हजार ३ सय ६८ मत मात्र भयो। चितवन–१ मा हरि ढकालले ४५,१७५ मत अन्तरमा कांग्रेसका राजेन्द्रकुमार बुर्लाकोटीलाई हराए।

४० हजारभन्दा बढी मत अन्तर ल्याउने अन्य विजयी रास्वपा उम्मेदवारहरूमा रूपन्देही–२ का सुलभ खरेल, रुपन्देही–१ का सुनिल लम्सा, मोरङ–६ की रुविना आचार्य र सुनसरी–२ का लालविक्रम थापा पनि छन्। सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३,६८९ मत अन्तरमा हराए भने सुनिल लम्साले कांग्रेसका हिराबहादुर खत्रीलाई ४२,८६३ मत अन्तरमा पराजित गरे। रुविना आचार्यले कांग्रेस नेता शेखर कोइरालालाई ४२,६६३ मत अन्तरमा हराइन् भने लालविक्रम थापाले ४१,२७७ मत अन्तरमा कांग्रेसका राजीव कोइरालालाई पराजित गरे।