काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सुरक्षामा खटिएका उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरेको थियो। उनीहरूलाई ४० दिनसम्म निर्वाचन सुरक्षामा खटाइएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको परिणाम पनि सार्वजनिक भइसकेको छ। त्यसपछि नेपाल प्रहरीले फागुन २८ गते देशभर निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’सहित औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले सोही दिन देशभर निर्वाचन प्रहरीलाई बिदाइ गरिने जानकारी दिए। सशस्त्र प्रहरी बलले पनि सोही दिन निर्वाचन सुरक्षामा खटिएका आफ्ना १५ हजार ११० जना निर्वाचन प्रहरीलाई औपचारिक रूपमा बिदाइ गर्ने जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार उनीहरूलाई बिहीबार सम्मानसहित बिदाइ गरिनेछ।
निर्वाचन सुरक्षामा ४० दिन खटिएका निर्वाचन प्रहरीले ३४ हजार ७७६ रुपैयाँ तलब पाएका छन्। यसबाहेक रासन तथा आउजाउ खर्चबापत ८४६ रुपैयाँ र चार दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराइएको छ। पोसाकबापत छुट्टै रकम पनि प्रदान गरिएको नेपाल प्रहरीका प्रवक्ता काफ्लेले बताए। उनका अनुसार सेवा–सुविधा किस्ताबन्दी रूपमा वितरण गरिएको छ र अधिकांशले प्राप्त गरिसकेका छन् भने केहीले लिने प्रक्रियामा छन्। निर्वाचनमा परिचालित कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीका लागि सेवा–सुविधा शीर्षकमा करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। यसमध्ये नेपाल प्रहरीले मात्रै ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने सशस्त्र प्रहरीले करिब ७० करोड रुपैयाँ खर्च गरेको जनाएको छ।
निर्वाचन ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको ज्यान गएको थियो भने दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईको पनि मृत्यु भएको थियो। ड्युटीका क्रममा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यस्तै बिरामी परेका निर्वाचन प्रहरीको उपचार खर्च पनि सरकारले बेहोरेको प्रहरीले जनाएको छ।