काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ। हालसम्म एक करोड सात लाख ३० हजारभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत ल्याएको छ। यही मतका आधारमा रास्वपाले समानुपातिकतर्फ करिब ५८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकबाट ५८ सिट पाएमा प्रतिनिधि सभामा दुई तिहाइ बहुमतभन्दा एक सिटले कम हुनेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ। रास्वपाले समानुपातिकमा ५९ सिट ल्याए दुई तिहाइ बहुमत पुग्नेछ। यद्यपि म्याग्दीमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी महावीर पुनलाई रास्वपाले समर्थन गरेकाले उनको साथ पाएमा पनि दुई तिहाइ संख्या पुग्ने सम्भावना देखिएको छ। समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपाभन्दा करिब ३४ लाख मतले पछाडि छ। कांग्रेसले हालसम्म १७ लाख ४८ हजार ३३६ मत प्राप्त गरेको छ, जसका आधारमा उसले करिब २० सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको कुल सांसद संख्या ३८ देखि ४० पुग्ने आकलन गरिएको छ।त्यसैगरी नेकपा (एमाले) ले समानुपातिकतर्फ १४ लाख ४८ हजार ४१२ मत ल्याएको छ। यस मतका आधारमा एमालेले १६ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेको कुल प्रतिनिधित्व करिब २५ सिट पुग्नेछ।
चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले समानुपातिकमा आठ लाख चार हजार १७१ मत पाएको छ। यस आधारमा उसले ९ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ सात सिट जितेको माओवादी केन्द्र करिब १७ सिटसहित संसद् प्रवेश गर्ने सम्भावना छ। यसपटक पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले राष्ट्रिय दल बन्ने संकेत देखाएको छ। उसले हालसम्म तीन लाख ७८ हजार ५९४ मत पाएको छ, जसका आधारमा चार सिट प्राप्त गर्ने अनुमान छ। प्रत्यक्षतर्फ तीन सिट जितेको यो दलको प्रतिनिधिसभामा कुल सात सिट पुग्ने देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ तीन लाख २९ हजार ४६६ मत ल्याएको छ। यस आधारमा उसले पनि चार सिट पाउने देखिन्छ। प्रत्यक्षमा एक सिट जितेको राप्रपाको संसदमा कुल पाँच सिट हुनेछ। अन्य दलले भने अहिलेसम्म थ्रेसहोल्ड कटाउन सकेका छैनन्। जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ र जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गरेका छन्। उता प्रत्यक्षतर्फ १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दै स्पष्ट अग्रता लिएको छ। नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा रहँदा एमाले ९ र नेकपा (माओवादी केन्द्र) सात सिटमा सीमित भएका छन्। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।
यद्यपि धनुषा–१ मा उम्मेदवार खारेजसम्बन्धी विवादका कारण उक्त क्षेत्रको नतिजा भने निर्वाचन आयोगले अझै औपचारिक रूपमा सार्वजनिक गरेको छैन।