काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्। चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको विवरणअनुसार सबैभन्दा बढी खर्च गोष्ठी तथा भेला र खाद्यान्न–रासनमा भएको देखिन्छ। गोष्ठी र भेलाका लागि १ लाख ८० हजार, जबकि खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ। उम्मेदवारका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीद्वारा हस्ताक्षरित खर्च विवरणमा कुल १० शीर्षकमा खर्च देखाइएको छ। यातायात र इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री ९झण्डा र ब्याज० मा १ लाख १२ हजार, र मतदाता प्रशिक्षणमा १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ। यस्तै, उम्मेदवारी मनोनयन दर्ता शुल्कमा १० हजार, र तीनपटकको हवाई यात्रा खर्च १३ हजार ६२६ रुपैयाँ रहेको विवरणमा जनाइएको छ।
