बालेन नेतृत्वको सरकार स्थापना अब कसरी हुन्छ ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सबै आइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको छ। मतपरिणाम अनुसार ८८राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ८८ले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्ने देखिएको छ। यसको अर्थ अबको सरकार रास्वापाले एक्लै बनाउन सक्ने स्थितिमा छ। रास्वापाले आफ्नै चुनावी अभियानमा वरिष्ठ नेता बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो। निर्वाचनमा देखिएको मतप्रवृत्ति पनि धेरैले शाहकै कारण प्रकट भएको अनुमान गरेका छन्।

अब कसरी बन्नेछ सरकार ?

नेपालको संविधानले नयाँ प्रतिनिधि सभा चयन भएपछिको सरकार गठन स्पष्ट रूपमा व्यवस्था गरेको छ। रास्वापाले झण्डै दुई तिहाइ बहुमत पाएकाले संविधानको धारा ७६(१) अनुसार सरकार गठन गर्न सक्नेछ। ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ,’ धारा ७६९१० मा भनिएको छ।

निर्वाचन आयोगले समानुपातिक प्रमाणपत्र चैतको पहिलो साता दिने तयारी गरेको छ। प्रमाणपत्र प्राप्त भएपछिको प्रक्रिया अनुसार सबै राजनीतिक दलले संसदीय दल गठन गर्नेछन्। त्यसपछि बहुमत सदस्यहरूको मतदानमार्फत रास्वापाको संसदीय दलको नेता चयन हुनेछ। रास्वापाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरिसकेको हुँदा संसदीय दलको नेतामा पनि उनले नै नेतृत्व लिने देखिन्छ।

संसदीय दल गठनपछि निर्वाचन आयोगले प्रमाणपत्र दिएको आधारमा चैतको दोस्रो सातासम्म संसद्को बैठक बस्ने र त्यसै साता भित्र नै बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने अनुमान गरिएको छ। रास्वापाले आफ्नो बाचापत्रमा मन्त्रालयको संख्या घटाएर १८ वटामा सीमित गर्ने र सबै विज्ञ मन्त्री नियुक्त गर्ने विषय उल्लेख गरेको छ। संविधान अनुसार संघीय सांसद नै मन्त्री बन्नुपर्नेछ वा यदि सांसद नभएमा ६ महिनाभित्र सांसद बनाउनुपर्ने व्यवस्था छ।

यद्यपि, पाँच वर्षसम्म सबै मन्त्री विज्ञ बनाउने योजना संविधान र वर्तमान राजनीतिक सन्तुलनका कारण पूर्ण रूपमा सहज देखिँदैन। राष्ट्रिय सभा र प्रदेश सभामा आवश्यक बहुमत नहुँदा केही चुनौती पनि सामना गर्नुपर्ने स्थिति छ।