मधेस: आँपका बोटमा ढकमक्क फूल, उत्पादन बढ्ने संकेत

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ। फागुन महिना सुरु भएसँगै आँपका बोटमा फूल धेरै लागेको कारण किसान र कृषि विज्ञहरूले उत्पादन वृद्धि हुने अनुमान गरेका छन्, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा। रामचन्द्र यादव ले जानकारी दिए। उनका अनुसार धान उत्पादनमा केही कमी आए पनि आँप खेतीले यस वर्ष किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ। धनुषा, सिराहा, सप्तरी लगायतका जिल्ला आँपका लागि प्रसिद्ध छन्। पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी क्षेत्रका किसानहरू व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने दक्षिणी भेगमा परम्परागत खेती हुँदै आएको छ।

मधेस प्रदेशमा उत्पादन हुने आँपको माग काठमाडौँ, पोखरा लगायतका सहरमा उच्च छ। यही कारणले फूल लाग्नासाथ व्यापारीहरूले बगैंचा ठेक्का लगाएर खरीद गर्ने गरेको स्थानीय किसान बताउँछन्। देशभर करिब ४२,७७३ हेक्टर क्षेत्रमा आँप खेती हुने गरेको छ, जसमा मधेस प्रदेशमा करिब २९,९९० हेक्टर क्षेत्रफलमा खेती हुन्छ। सिराहामा सबैभन्दा बढी १,०४,६७६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ भने पर्सामा सबैभन्दा कम ४,७३१ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ। कुल उत्पादनको करिब ७७५ मधेसमै फल्छ।

यद्यपि आँपमा रोग र किराको जोखिम कायम छ। डा। यादवका अनुसार मधुवा र अन्य किराले फूल झार्ने समस्या बढी देखिन्छ। त्यसैले उचित समयमा औषधि प्रयोग गरी निगरानी गर्नु आवश्यक हुन्छ। धनुषाको धनुषा, मिथिला, क्षिरेश्वरनाथ, चारनाथ नगरपालिका क्षेत्रलाई आँप उत्पादनको ‘पकेट एरिया’ मानिन्छ। बटेश्वर क्षेत्रमा हरेक वर्ष आँप मेला पनि आयोजना हुने गरेको छ। किसानहरूले यस वर्ष फूल राम्रो लागे पनि मौसम अनुकूल नभए उत्पादन कम हुने जोखिम रहन्छ भन्दै, बजार व्यवस्थापनमा राज्यबाट सहयोगको अपेक्षा राखेका छन्। कृषि विज्ञहरूको विश्लेषण अनुसार समयमै रोग नियन्त्रण, उचित स्याहार र अनुकूल मौसम भए मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।