सुर्खेतमा बलात्कारपछि किशोरीको मृत्यु: पोस्टमार्टममा अत्यधिक रक्तश्राव पुष्टि

सुर्खेत। सुर्खेतमा १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा पोस्टमार्टम रिपोर्टले अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ।

फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा ती किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम रिपोर्टमा बालिकाको संवेदनशील अंगमा चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको र त्यसकै कारण मृत्यु भएको उल्लेख छ। पोस्टमार्टम कर्णाली प्रादेशिक अस्पतालमै गरिएको थियो। त्यसका लागि बाँकेको भेरी अस्पतालबाट फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यसहितको चिकित्सक टोली बोलाइएको थियो।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पीडित परिवारले चारै जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। आइतबार जिल्ला अदालत सुर्खेतबाट ६ दिनको म्याद लिएर जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान सुरु गरिएको थियो। उक्त म्याद सकिएपछि बिहीबार पुनः अदालतमा उपस्थित गराइने तयारी गरिएको छ। घटनाबारे न्यायको माग गर्दै सुर्खेत र काठमाडौंमा प्रदर्शनसमेत भइरहेको छ। पीडित परिवारको तर्फबाट बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको थियो भने काठमाडौंमा पनि विरोध कार्यक्रम जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार ती किशोरी फागुन २३ गते बिहान ८ बजे मर्निङ वाकका लागि घरबाट निस्किएकी थिइन्। कक्षा ११ मा अध्ययनरत उनी जनजागरण सामुदायिक वन पुगेकी थिइन्। त्यहीँ एक किशोरसँग भेट भएपछि जबरजस्ती करणी भएको आरोप छ।प्रहरी अनुसन्धानमा बलात्कारका क्रममा किशोरीको यौनांगमा गम्भीर चोट लागेको र त्यसपछि अत्यधिक रक्तश्राव भएको देखिएको छ। बयानका क्रममा आरोपित किशोरले रक्तश्राव सुरु भएपछि आफ्ना साथीहरूलाई बोलाएको बताएका छन्। यस विषयमा प्रहरीले प्राविधिक प्रमाणमार्फत थप अनुसन्धान गरिरहेको जनाएको छ।उता, मृतक परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। पाँच दिनदेखि शव अस्पतालमै राखिएको छ। परिवारले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।