म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार चुनावी अभियानमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
बिहीबार आयोगमा बुझाइएको विवरणमा पुनले सबैभन्दा धेरै खर्च होटलको खाना र बसाइमा भएको देखाएका छन्। उक्त शीर्षकमा मात्रै १३ लाख ७ हजार रुपैयाँभन्दा बढी खर्च गरिएको उल्लेख छ।
त्यस्तै यातायात तथा सवारी मर्मतमा ६ लाख ६० हजार रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। चालकलाई ज्यालाबापत १ लाख ४० हजार रुपैयाँ दिइएको र प्रचारप्रसार सामग्रीमा २ लाख ९० हजार रुपैयाँ खर्च भएको पनि उनले उल्लेख गरेका छन्।
यसैगरी उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, स्टेशनरीमा २५ हजार ३ सय रुपैयाँ तथा विविध शीर्षकमा ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी खर्चसँग तुलना गर्दा पुनको खर्च झण्डै दोब्बर देखिएको छ। शाहले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनको कुल चुनावी खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ रहेको छ।
शाहले सबैभन्दा धेरै खर्च १५ दिनसम्म सञ्चालन गरिएको वडास्तरीय घरदैलो अभियानमा गरेका छन्। उक्त अभियानमा मात्रै ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। सबैभन्दा कम खर्च भने उम्मेदवारी दर्तामा भएको देखिन्छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्।
