प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने तयारी गरेको छ। बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएको छ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सेतोपाटीसँग भनिन्, “हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक प्रकारले हाम्रो संसदीय दलको नेता बालेन शाह नै हुन्। उहाँलाई दलको नेता बनाउन विधानमा के के प्रावधान हेरफेर गर्नुपर्छ, हामी त्यो गर्छौं।” रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको प्रावधान छ। विधानको धारा ६६(८) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने व्यवस्था उल्लेख छ।
त्यस्तै उपधारामा दल नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान राखिएको छ। रास्वपाले यही प्रावधानलाई संशोधन गर्ने तयारी गरेको छ। संशोधनका अन्तर्वस्तुहरूबारे अहिले छलफल पूरा नभइसकेको पनि रावलले बताइन्। रावलले भनिन्, “हामीले विगतमा पनि अभ्यास गरेका थियौं। अहिले चुनावअगावै प्रधानमन्त्री तोकिसकेको अवस्थामा सहजीकरणका लागि के गर्नुपर्छ हामी छलफल गर्छौं।”
रास्वपाको मौजुदा विधानमा कुल खसेको सदर मतको ५० प्रतिशत प्लस एक मत प्राप्त गर्ने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने व्यवस्था छ। यदि कुनै उम्मेदवारले यो संख्या प्राप्त गर्न नसके, भने बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ र विजयी उम्मेदवार संसदीय दलको नेता बन्ने छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएर घरमै स्वास्थ्य लाभ गरिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको रावलले बताइन्।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको थियो। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट ल्याएको थियो। समानुपातिक उम्मेदवार छनोटका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक कुराकानी भइरहेको पार्टीका नेताहरूले बताएका छन्।