काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेबनानमा तैनाथ नेपाली सेनाको क्याम्प आसपास विस्फोट भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय रहेको क्षेत्रमा शुक्रबार बेलुका उक्त घटना भएको हो। घटनामा नेपाली शान्ति सैनिक भने सुरक्षित रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत ले माइस–अल–जबाल क्षेत्रमा केही विस्फोट भएको पुष्टि गर्दै त्यसबाट नेपाली शान्ति सैनिकमा कुनै मानवीय क्षति नभएको जानकारी दिए।
उनका अनुसार विस्फोटका कारण नजिकैको एक घरमा क्षति पुगेको छ भने नेपाली शान्ति सैनिकका केही व्यक्तिगत सामग्रीमा सामान्य क्षति भएको छ। आक्रमण हुँदा शान्ति सैनिकहरू बंकरभित्र रहेकाले उनीहरू सुरक्षित रहन सफल भएका हुन्। हाल लेबनानमा पाँच सयभन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्। उनीहरूको गतिविधि दक्षिण लेबनानस्थित बटालियन मुख्यालयबाट सञ्चालन हुन्छ, जुन इजरायलसँगको सीमाना नजिकै पर्छ। उक्त मुख्यालयको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा रहेका छन्।
आक्रमणको समयमा मुख्यालयमा कति शान्ति सैनिक उपस्थित थिए भन्ने स्पष्ट भइसकेको छैन। सेनाका प्रवक्ता बस्नेतका अनुसार त्यहाँ नियमित रूपमा सैनिकको अदलीबदली र आवतजावत भइरहने भएकाले त्यसबेला उपस्थित संख्या यकिन गर्न नसकिएको हो। लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सी ले भने इजरायलतर्फबाट प्रहार गरिएको गोला माइस–अल–जबाल सहरस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल अन्तर्गत नेपाली बटालियन मुख्यालयभित्र खसेको दाबी गरेको छ। यद्यपि आक्रमण कहाँबाट भएको हो भन्ने विषय अझै स्पष्ट नभएको नेपाली सेनाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लेबनान भ्रमणमा रहेका बेला उक्त घटना भएको हो। उनले शान्ति सैनिकलाई निशाना बनाइनु अस्वीकार्य भएको भन्दै हाल चर्किएको द्वन्द्व तत्काल रोक्न आह्वान गरेका छन्। गुटेरेसले विश्व समुदायलाई शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै लेबनान, इजरायल तथा अन्य देशका नागरिकले भयमुक्त वातावरणमा जीवन यापन गर्ने अधिकार रहेको बताएका छन्।
