विपद्का घटना बढ्दो, ११ महिनामा ६ हजार

काठमाडौं । चालु वर्षको वैशाखदेखि फागुन मसान्तसम्म देशभर ६ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार ११ महिनाको अवधिमा विपद्का कारण ४६४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ३८ जना बेपत्ता भएका छन् भने एक हजार ८१४ जना घाइते भएका छन्। विपद्का घटनाले देशभर १२ हजार ४५८ घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। कुल ३ हजार ३३९ आगलागीका घटनामा ९८ जनाको मृत्यु भएको छ। त्यसैगरी बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२ तथा डढेलोका २४६ घटना भएका छन्। यस्तै हावाहुरीका २९२, जनावरको आक्रमणका ४८८ र लेक लाग्नेका ११९ घटना भएका छन्। यस अवधिमा हिमपहिरोका पाँच, भूकम्पका सात र डुंगा पल्टिँदा दुई घटना भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म मात्र देशभर २९ वटा विपद्का घटना दर्ता भएका छन्।