काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार खसआर्यबाट १७ जना, जनजातिबाट १६ जना, दलितबाट ८ जना, मुस्लिमबाट ३ जना, मधेसीबाट ९ जना र थारूबाट ४ जना गरी कुल ५७ जनाको नाम आयोगमा बुझाइनेछ। पार्टी केन्द्रीय कार्यालयले जिम्मेवारी तोकेअनुसार केही कर्मचारी तथा सचिवालय सदस्यहरूको नेतृत्वमा निर्धारित समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले बताए। निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न राजनीतिक दलहरूलाई आइतबारसम्मको समय दिएको थियो।
यद्यपि रास्वपाले आयोगमा बुझाएको सूचीमा रहेका नामहरू भने अहिले सार्वजनिक नगर्ने जनाएको छ। पार्टीका अनुसार निर्वाचन आयोगले नामावली जाँच गरी प्रमाणित गरेपछि आयोगले नै औपचारिक रूपमा सार्वजनिक गर्नेछ।
प्रवक्ता झाले राजनीतिक तथा कानुनी प्रक्रियाअनुसार आयोगले नामहरू परीक्षण र प्रमाणित नगरेसम्म ती नामहरूलाई पार्टीले प्रस्तावित सूचीका रूपमा मात्रै मान्ने बताए। त्यसैले आयोगले औपचारिक रूपमा सार्वजनिक नगरेसम्म पार्टीले नाम सार्वजनिक नगर्ने उनले स्पष्ट पारे।