
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सप्तकोशी खानेपानी योजना कार्यान्वयनका लागि विदेशी ऋण नलिने स्पष्ट बताएका छन्। बिहीबार संघीय सरकारका खानेपानी मन्त्री प्रदीपकुमार यादवलाई पठाएको औपचारिक पत्रमा उनले एसियाली विकास बैंक (एडीबी)को ऋण प्रयोग नगर्न आग्रह गरेका हुन्।

मेयर साम्पाङले पत्रमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले विनियोजन गरेको ४ करोड रुपैयाँलाई स्वागत गर्दै बाँकी रकम राष्ट्रिय स्रोतबाट जुटाउन आग्रह गरेका छन्। उनले विदेशी ऋण लिने प्रवृत्ति दीर्घकालीन रूपमा देशको हितमा नपर्ने बताएका छन्।
साम्पाङले पत्रमा लेखेका छन्, “३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकनचोटि मन्त्रालय धाएको स्मरण गराउँछु। तर बाँकीको पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन।”
यसअघि धरानमा एडीबीकै सहायतामा भूमिगत खानेपानी आयोजना सञ्चालनमा आएको थियो, तर त्यसबापतको ऋण अझै तिर्न बाँकी रहेको बताउँदै उनले आगामी योजना स्वदेशी आम्दानीबाट अघि बढाउन जोड दिएका छन्।
पत्रमा थप भनिएको छ, “धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला, अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँदछु।”
साम्पाङको यो निर्णयले स्थानीय स्रोत र स्वावलम्बनमा आधारित विकासको उदाहरण प्रस्तुत गरेको छ। उनले प्रधानमन्त्री कार्यालयमा समेत पत्रको बोधार्थ पठाएका छन्।