दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिएका जेनजी, तस्बिरहरू सहित

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ। सोमबार अलायन्सले काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो। आफ्नो माग पूरा गराउन सरकारमाथि दबाब दिने उद्देश्यले प्रदर्शनकारीहरूले बिहान ११ बजेदेखि आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरे।

अलायन्सले गुपचुप राखिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने स्पष्ट अडान राखेको छ। साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु तत्काल खारेज गर्नुपर्ने माग समेत उठाएको छ। सरकारको कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हामीसँग भएको सहमतिको उल्लङ्घन गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ। राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथि कुठाराघात हो।”