पाकिस्तानद्वारा काबुलको अस्पतालमा भीषण हवाई आक्रमण, ४०० जनाको मृत्यु

 

बिराटनगर । काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूका लागि सञ्चालन गरिएको ठूलो अस्पतालमा भएको भीषण हवाई आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने करिब २५० जना घाइते भएका छन् । उक्त आक्रमणका लागि पाकिस्तान जिम्मेवार रहेको आरोप अफगानिस्तानले लगाएको छ ।

अफगान सरकारी अधिकारीका अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे भएको आक्रमणले दुई हजार शय्या क्षमताको अस्पतालको ठूलो भाग ध्वस्त पारेको छ । घटनापछि उद्धार टोलीहरू भग्नावशेष हटाउँदै घाइतेहरूको खोजी तथा आगो नियन्त्रणको काममा खटिएका छन् ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हवाई आक्रमणले अस्पतालको संरचनामा व्यापक क्षति पुर्‍याएको बताए । उनका अनुसार मृत्यु हुनेको संख्या ४०० पुगेको छ भने करिब २५० जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मीहरू टर्चलाइटको सहायताले भग्नावशेषबाट घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त आक्रमणको कडा निन्दा गर्दै पाकिस्तानमाथि नागरिक संरचना र अस्पताललाई लक्षित गरी ‘आतंक मच्चाएको’ आरोप लगाएका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको टिप्पणी गरेका छन् ।

तर शहबाज शरिफका प्रवक्ता मोसर्रफ जैदीले भने अफगानिस्तानले लगाएको आरोप अस्वीकार गरेका छन् । पाकिस्तानले काबुलमा कुनै अस्पताललाई लक्षित गरेर आक्रमण नगरेको दाबी गर्दै त्यहाँ रहेका आतंकवादी संरचनामाथि मात्रै कारबाही गरिएको जनाएको छ ।

पाकिस्तानको भनाइअनुसार काबुल र नान्गहार क्षेत्रमा गरिएको आक्रमण अफगान तालिबानसँग सम्बन्धित र पाकिस्तानविरुद्ध गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहका आधारस्थलहरू लक्षित थिए ।

दुई छिमेकी देशबीच पछिल्ला हप्ताहरूमा सीमा क्षेत्रमा लगातार झडप र हवाई आक्रमण बढ्दै गएको छ । गत महिनाको अन्त्यतिर सुरु भएको तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । सीमावर्ती क्षेत्रमा केही घण्टा अघि भएको गोली हानाहानमा अफगानिस्तानतर्फ चार जनाको मृत्यु भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय समुदायले युद्धविराम र संयमताका लागि बारम्बार आह्वान गरिरहे पनि दुवै देशबीचको तनाव अझै कम हुन सकेको छैन ।