उदयपुर । उदयपुरको कटारी नगरपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको हुरीबतासका कारण रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार कटारी–८ थलियाटारमा ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर घटनास्थलमै मृत्यु भएको हो।
यसैगरी कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ। हुरीबतासका कारण घाइते हुनेहरूमा कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर, कटारी–५ का मृतक चौधरीकी नातिनी पाँच वर्षीया बिनिशा, सोही स्थानका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार तथा १६ वर्षीया अस्मिता परियार रहेका छन्।
घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ। कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र २० वर्षीया कमलाकुमारी पुलामी मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। अन्य चार जनालाई सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। मृतक दुवै जनाको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ र परीक्षणको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, हुरीबतास र वर्षाका कारण कटारीका पहाडी क्षेत्रमा घरका छाना उड्नुका साथै केही स्थानमा सामान्य क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।