पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा। आँधीखोला गाउँपालिका–१ मा रहेको ‘म्हाजु भञ्ज्याङ’ पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सिरुबारी सामुदायिक घरबास ९होमस्टे० जाने मुख्य सडक किनारमै अवस्थित यो स्थानमा आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिन्छ।वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०र८१ देखि यहाँ पर्यापर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीयलाई रोजगारीसँग जोड्ने लक्ष्यसहित योजनाहरू अघि सारिएका छन्। यसअन्तर्गत म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागतद्वार, आकर्षक झुला, प्रतिक्षालय तथा ‘म्हाजु भञ्ज्याङ इकोभिलेज एन्ड रेष्टो’ जस्ता संरचना निर्माण गरी क्षेत्रको समग्र विकास गरिएको छ।

यहाँ पुग्ने पर्यटकलाई स्थानीय अग्र्यानिक परिकारको स्वाद चखाउने व्यवस्था गरिएको छ भने स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको बिक्रीका लागि कोसेली घरसमेत सञ्चालनमा ल्याइएको छ। यसले स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्‍याएको छ। आँधीखोला गाउँपालिका र स्थानीय युवाको सहकार्यमा पूर्वाधार विकासका लागि करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ। सार्वजनिक जमिनलाई भाडामा दिई ‘इको स्टे’ सञ्चालन गरिएकाले करिब १० जना स्थानीय युवाले रोजगारी पाएका छन्।

हाल दैनिक झन्डै ५०० जना पर्यटकले यस स्थानको भ्रमण गर्ने गरेको बताइन्छ, जसले म्हाजु भञ्ज्याङलाई ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा चिनाउन मद्दत गरिरहेको छ।