
विराटनगर। अगाडिको गाडीलाई उछिन्न हुइँकिएको टिपरको ठक्करले मोरङको सुन्दरहरैँचा नगरपालिका-४ बलियामा ६ जना घाइते भएका छन् । टिपरले बिहीबार बेलुका सिटी सफारीलाई ठक्कर दिएको थियो । ठक्करले सिटी सफारी क्षतिग्रस्त बनेको छ ।

प्रहरीका अनुसार बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई प्रदेश १-०२-००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
सफारीमा सवार रहेका सुन्दरहरैँचा-५ की ३१ वर्षीया ज्वाति यादव, ५३ वर्षीया अमेरिकादेवी यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव, ९ वर्षीय देवराज यादव र ५ वर्षीया दीपिका यादव घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू एकै परिवारका रहेको जनाइएको छ ।
उनीहरुको इटहरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालक सुन्दरहरैँचा-६ का ३५ वर्षीय सागर चौधरी र सफारी चालक इटहरी-३ का ४७ वर्षीय सुनकुमार लिम्बूलाई पक्राउ गरेको छ ।