धादिङ। चितवनका प्रविन प्रजा आज हातमा केवल कफीको कप मात्र राखेका छैनन्, उनीसँग सुनौलो भविष्य बुन्ने सपना पनि छ। हरेक ‘शट’ मिलाउँदै उनी आफ्नै कफी सप सञ्चालन गर्ने योजना तयार पारिरहेका छन्।
धादिङका रोशन बरुवालको दृष्टिकोण अलि फरक छ। उनी यो सीपलाई विदेश जाने पूर्वतयारीको माध्यम बनाउँदै, पछि स्वदेशमै लगानी गर्ने पुँजी जुटाउन चाहन्छन्। विपना पोखरेल भने आफ्नै देशको माटोमा कफीको सुगन्ध फैलाउँदै व्यावसायिक बन्ने अठोटमा छिन्। यो दृश्य धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित आरोहण शिक्षालयको हो, जहाँ बागमती प्रदेशका २० युवा बारिष्टा (कफी बनाउने तालिम) मा व्यस्त छन्। ‘सीप सिकौं, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङले यो तालिम सञ्चालन गरेको हो। तालिममा सहभागी युवाहरूको उत्साहले सीपप्रतिको बढ्दो आकर्षण स्पष्ट देखाउँछ। चितवनका प्रजा भन्छन्, “कफी बनाउनु आधुनिक कला हो, र म यही सीपलाई व्यवसायमा बदल्न चाहन्छु।”
नीलकण्ठ नगरपालिका–३ का बरुवालका लागि तालिम वैदेशिक रोजगारी अघि बढ्नुअघिको तयारी हो। उनले भने, “बाहिर गएर राम्रो कमाउने र पछि नेपालमै फर्केर व्यवसाय गर्ने मेरो योजना छ।”
सहभागी विपना पोखरेल भने आफ्नो गाउँ र देशमै व्यावसायिक कफी सप खोल्ने र अरूलाई रोजगारी दिने लक्ष्यमा छिन्। उनी भन्छिन्, “सीप र लगानीको सही वातावरणमा हामी स्वरोजगार बन्न सक्छौं र अरूलाई पनि अवसर दिन सक्छौं।” युवा बेरोजगार बस्न नपरोस् र उनीहरूमा प्राविधिक दक्षता विकास होस् भन्ने उद्देश्यले बारिष्टा तालिम सञ्चालन गरिएको हो। सामाजिक विकास कार्यालय गजुरीका प्रमुख रमेश घिमिरे भन्छन्, “सीपमूलक कार्यक्रमले युवामा आत्मविश्वास भर्दै स्वरोजगारको ढोका खोल्नेछ।”
स्थानीय सरकारको भूमिका यसमा महत्वपूर्ण छ। नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठ भन्छन्, “तालिमले सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन प्रोत्साहन गर्ने थप कार्यक्रम ल्याइनेछ।” आरोहण शिक्षालयको बारिष्टा तालिम ३९० घण्टाको छ। यस अवधिमा सहभागीले कफी छनोट, रोस्टिङ, विभिन्न प्रकारका कफी बनाउने तरिका र ग्राहकसँग व्यवहारसम्बन्धी व्यावहारिक तथा व्यावसायिक ज्ञान सिकिरहेका छन्।
सामान्यतया काठमाडौँ वा पोखरामा यो तालिम लिन १५ हजारदेखि ३० हजार रुपैयाँ शुल्क लाग्छ भने एड्भान्स कोर्सका लागि ९० हजारसम्म खर्च गर्नुपर्छ। खाने–बस्ने खर्च जोड्दा सामान्य परिवारका युवाका लागि चुनौतीपूर्ण हुन्छ। तर निशुल्क तालिमले युवाको उत्साह र पहुँच दुवै बढाएको छ। तालिम संयोजक शोभा डङ्गोल भन्छिन्, “गाउँमै निशुल्क तालिम उपलब्ध गराउँदा विपन्न र जेहेन्दार युवालाई सीप सिक्ने अवसर पुगेको छ।”
सुरुबाटै देखिएको उत्साहले भविष्यमा सफल उद्यमी वा दक्ष बारिष्टा जन्माउने अपेक्षा गरिएको छ। बागमती प्रदेश सरकारको यो प्रयासले युवालाई विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।