आज निर्वाचन सम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई पेश गरिने

 

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदको सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि ५७ सिट प्राप्त गर्दै कुल १८२ सिट सुरक्षित गरेको छ। यो परिणामले नेपाली राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको विश्लेषण गरिएको छ। पहिलोपटक निर्वाचनमै यति ठूलो जनसमर्थन प्राप्त गर्दै रास्वपा प्रमुख शक्तिका रूपमा स्थापित भएको हो। अन्य प्रमुख दलहरूको अवस्था भने कमजोर देखिएको छ। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिटमा सीमित भएको छ। त्यस्तै, नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जित्दै जम्मा २५ सिट प्राप्त गरेको छ। यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जित्दै कुल १७ सिट हासिल गरेको छ। साना दलहरूको उपस्थिति पनि देखिएको छ। श्रम संस्कृति पार्टीले ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ५ सिट जितेका छन्। यसपटकको निर्वाचन परिणामले पुराना दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिको उदय भएको स्पष्ट संकेत गरेको छ। अबको सरकार गठन र राजनीतिक समीकरण कस्तो बन्छ भन्ने विषयमा व्यापक चासो व्यक्त गरिएको छ।