काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुदन गुरुङ ले बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय दिनुपर्ने बताएका छन्। सञ्चारमाध्यमसँग कुरा गर्दै उनले पछिल्लो समय देशमा यस्ता घटना बढ्दो क्रममा रहेको भन्दै प्रभावकारी कानुनको आवश्यकता औंल्याए। उनले व्यक्तिगत धारणा राख्दै बलात्कारीलाई मृत्युदण्डसम्मको व्यवस्था गर्नुपर्ने बताएका छन्। “बलात्कारीलाई कडा सजाय नभएसम्म अपराध नियन्त्रण हुँदैन, त्यसका लागि क्यापिटल पनिसमेन्ट आवश्यक हुन सक्छ,” उनले भने।
सांसद गुरुङले बलात्कारी र भ्रष्टाचारीविरुद्ध कडा कानुन किन बन्न नसकेको भन्ने प्रश्न पनि उठाएका छन्। अपराधीलाई कडा कारबाही गर्न नसक्दा अपराध बढ्ने खतरा रहने उनको भनाइ छ। उनले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कानुनी सुधारको आवश्यकता औंल्याए। “अपराधी खुलेआम हिँडिरहेका छन्, त्यसैले संविधान र कानुन सुधार गरेर कडा सजायको व्यवस्था गर्नुपर्छ,” उनले भने।महिला हिंसा न्यूनीकरणका लागि कडा नीतिनियम आवश्यक रहेको उल्लेख गर्दै उनले विगतका घटनाको समीक्षा र विद्यमान कानुनको अध्ययनपछि आगामी सरकारले आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरे।