काठमाडौँ । पर्यटकहरूको तत्काल उद्धार र सङ्कट व्यवस्थापन क्षमतालाई सुदृढ पार्न नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने लाई मोटरसाइकल हस्तान्तरण गरे। कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला पनि उपस्थित थिए। सचिव निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै भने, “पर्यटक सुरक्षित भए मात्र गन्तव्य विश्वसनीय बन्छ। आज हस्तान्तरण गरिएका साधनहरूले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु।” उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहल आवश्यक भएको बताए।
प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम भइरहेको उल्लेख गर्दै भने, “पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो। यी मोटरसाइकलहरूले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत गर्नेछन्।” महानिर्देशक लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले आकस्मिक उद्धार र सङ्कट व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले भने, “यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई सकारात्मक बनाउनेछ।” कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा पनि उपस्थित थिए। नेपालमा पर्यटक प्रहरी विशेष सुरक्षा निकायको रूपमा परिचालन हुँदै आएको छ। नयाँ मोटरसाइकलको उपलब्धतासँगै सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ।