काठमाडौं । अमेरिका ले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन र कच्चा तेलको बढ्दो मूल्य नियन्त्रण गर्न इरानी तेलमाथि लगाइएका प्रतिबन्धहरू हटाउने तयारी गरेको जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ले यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आपूर्ति व्यवस्थापनसम्बन्धी समन्वयात्मक रणनीतिक पहलको हिस्सा भएको बताएका छन्। उनका अनुसार हाल जारी सैन्य गतिविधिबीच इरानी तेलको अवस्थाको मूल्यांकन भइरहेको छ। समुद्रमा रोकिएर बसेको करिब १४० मिलियन ब्यारेल इरानी तेलमाथिको प्रतिबन्ध आगामी दिनमा हट्न सक्ने संकेत उनले दिएका छन्। उक्त मात्रा करिब १० देखि १४ दिनसम्मको आपूर्तिका लागि पर्याप्त हुने बताइएको छ, जुन इरानले चीन तर्फ पठाइरहेको थियो।
अमेरिकाले तेलको मूल्य नियन्त्रणका लागि बहुआयामिक रणनीति अपनाइरहेको पनि उनले स्पष्ट पारे। यसअन्तर्गत इरानमाथि दबाब कायम राख्दै बजारमा आपूर्ति बढाउने तथा आवश्यक परे घरेलु तेल भण्डार प्रयोग गर्ने योजना समावेश रहेको छ। बेसेन्टले यसअघि रुस को तेलमाथिको प्रतिबन्ध खुकुलो बनाउँदा होर्मुज क्षेत्र बाहिर करिब १३० मिलियन ब्यारेल आपूर्ति बजारमा आएको उदाहरण दिएका छन्। त्यसैगरी, इतिहासकै ठूलो समन्वयात्मक निर्णयअन्तर्गत रणनीतिक पेट्रोलियम भण्डारबाट ४०० मिलियन ब्यारेल तेल जारी गर्न स्वीकृति दिइएको जानकारी पनि उनले दिए। उनका अनुसार अन्य देशहरूले समेत यस्तै कदम चाल्न सक्नेछन्। आवश्यक परे अमेरिकाले एक्लैले पनि थप भण्डार बजारमा ल्याएर तेलको मूल्य स्थिर राख्न सक्ने बताइएको छ।