मौसम बिग्रने संकेत: दुई दिन हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मौसम बदली भई हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम अस्थिर बनेको हो। जल तथा मौसम विज्ञान विभाग का अनुसार दिउँसो अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार आजदेखि दाङ, नेपालगन्जलगायत लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा र भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्नेछ।

प्रि–मनसुनको समय भएकाले हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। प्राधिकरणले हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोत सुरक्षित राख्न, सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन र भीडभाडमा नआत्तिन आग्रह गरेको छ। त्यस्तै, कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन र जोखिमयुक्त स्थानबाट टाढा रहन पनि सुझाव दिइएको छ।