काठमाडौं । नेपाली कांग्रेस भित्र पछिल्ला राजनीतिक घटनाक्रमसँगै शक्ति सन्तुलन र रणनीतिमाथि गम्भीर बहस सुरु भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आज ९शुक्रबार० दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।
चुनावी नतिजा अपेक्षाभन्दा कमजोर आएपछि नेतृत्वमाथि प्रश्न उठिरहेका छन्। सभापति गगनकुमार थापा ले बुधबार पदबाट राजीनामा दिएका थिए। उपसभापति विश्वप्रकाश शर्मा ले भने उक्त राजीनामा अस्वीकृत हुने संकेत गरिसकेका छन्। पार्टीभित्र बहुसंख्यक नेताहरू नेतृत्व परिवर्तनभन्दा संगठनलाई एकताबद्ध राख्दै सुधार गर्नुपर्ने पक्षमा देखिएका छन्। बैठकमा चुनावी पराजय, संगठनात्मक कमजोरी, गठबन्धन राजनीति तथा सरकार सञ्चालनका चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ। साथै पार्टीलाई पुनः सशक्त बनाउने रणनीति तय गर्ने तयारी पनि रहेको छ।
राजीनामा अस्वीकृत भएमा थापामाथि सुधारात्मक कदम चाल्दै पार्टीलाई एकताबद्ध राख्ने दबाब थप बढ्ने देखिन्छ। यस बैठकलाई कांग्रेसको नेतृत्व, संगठन र आगामी राजनीतिक दिशा निर्धारण गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ।