धनकुटामा पिकअप दुर्घटना, ४ जना घाइते; चालक गम्भीर

 विराटनगर

। धनकुटाको सहिदभूमि गाउँपालिका–३ ढोडेस्थित भित्री सडक खण्डमा शनिबार दिउँसो पिकअप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । दिउँसो २ बजेतिर गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियन्त्रित भई करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा खटिएको टोलीले चालकसहित घाइते चारै जनाको उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाएको थियो । घाइतेमध्ये चालक सहिदभूमि–१ बस्ने २१ वर्षीय पूर्ण राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । यस्तै, ३५ वर्षीया मीना तामाङको टाउकोमा चोट लागेको छ । उनलाई पनि थप उपचारका लागि घोपामा रिफर गरिएको छ । १६ वर्षीय अमित राईको बायाँ हातमा चोट लागेको छ । उनको धनकुटा नगरपालिका–१ हिलेस्थित निजी मेडिकलमा उपचार भइरहेको छ । त्यस्तै, १६ वर्षीय अविन राईको धरानस्थित घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।