काठमाडौँ । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै समाधान हुन सकेको छैन। ईद मनाउने क्रममा महाराजगञ्ज नगरपालिका–२ को बरगदा र बहादुरगञ्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो। घटनामा तीन जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्र, बर्गदी पुल हुँदै बहादुरगञ्ज चोकसम्म निषेधाज्ञा जारी गरेको छ, जुन हालसम्म कायम रहेको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विवाद समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय छलफल जारी छ। उनले विवाद टुङ्गो नलागेसम्म निषेधाज्ञा हटाइने सम्भावना नरहेको बताएका छन्। प्रहरीका अनुसार चैत ७ गते बरगदास्थित मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको मन्दिरमा डिजे बजाइएपछि विवाद सुरु भएको थियो। सन्तोष आचार्यले धार्मिक कार्यक्रमका क्रममा उत्पन्न संवेदनशील अवस्थाले झडपको रूप लिएको जानकारी दिएका छन्। झडपका क्रममा दुवै पक्षबाट मन्दिर र मस्जिदमा तोडफोड भएको छ। अहिले धार्मिक सहिष्णुता कायम राख्दै समस्या समाधान गर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि र सरकारी निकाय सक्रिय रूपमा जुटेका छन्।