काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।
यसअघि, गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो। सो रिट सोमबारसम्म पाँचौँ पटक हेर्दाहेर्दैमा परेको छ। महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्। उनीहरूले लामिछाने तथा फरार अभियुक्त जीबी राईविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयलाई चुनौती दिएका छन्।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र अभियोजन चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको थियो।