मध्यपूर्वी तनावको असर: मुख्य सिजनमै पोखरामा पर्यटक घटे

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमनमा गिरावट देखिएको छ। विशेषगरी युरोप र अमेरिकाबाट आउने पर्यटकका लागि प्रमुख ट्रान्जिट रहेका दुबई, कतार र साउदी अरेबियाजस्ता गन्तव्य प्रभावित भएपछि पोखरा आउने पर्यटकको संख्या घटेको हो।

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेका छन्। “मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष असर पारेको छ,” उनले भने। नेपाल आउने अधिकांश पर्यटकले कतार, दुबईलगायतका मुलुकलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने भएकाले उडान अवरोधले आगमनमा कमी आएको उनले बताए। साथै, युद्धका कारण ग्यास र इन्धन आपूर्तिमा देखिएको समस्या पनि प्रभावकारी कारक बनेको छ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो प्रमुख सिजनमै अपेक्षाअनुसार पर्यटक नआएको बताए। मार्चदेखि मेसम्मलाई पदयात्राको व्यस्त समय मानिने भए पनि हालको परिस्थितिले युरोपियन पर्यटकको आगमन उल्लेख्य रूपमा घटेको उनको भनाइ छ। उनका अनुसार अमेरिकाले आफ्ना नागरिकका लागि जारी गरेको ट्राभल एड्भाइजरीले पनि अमेरिकन पर्यटकको आगमन न्यून बनाएको छ। यद्यपि भारतीय तथा आन्तरिक पर्यटकको आगमन भने सन्तोषजनक रहेको उनले जानकारी दिए।

पर्यटन व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको तनावका कारण अग्रिम बुकिङहरू धमाधम रद्द भइरहेको बताए। “यो सिजनमा अपेक्षित संख्यामा पर्यटक आउन सकेका छैनन्,” उनले भने।