। विराटनगरमा बुधबार बिहान एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदा ती महिला घाइते भएकी छन् ।
आमाले शरीरमा लगाएको आगो निभाउने क्रममा छोरा पनि घाइते भएका छन् । आमा–छोराकै शरीरका केही भाग जलेको छ । घाइतेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी अन्दाजी ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार आगोले निर्मलाको अनुहार, छाती, हात गरेर शरीरको करिब १८ प्रतिशत भाग जलेको जानकारी अस्पतालले दिएको छ । निर्मलाले शरीरमा लगाएको आगो निभाउने क्रममा छोरा १९ वर्षीय धीरज खत्री पनि घाइतेभ भएका छन् । धीरजको शरीरको ५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार दुवै जना घाइतेको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना बिहान १० बजेतिरको हो । घाइतेहरुले सुरुमा खाना पकाउने क्रममा घरभित्रै ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीलाई बताउँदै घटना बंग्याउन खोजेका थिए ।
तर, प्रहरी घटनास्थलमा पुग्दा विस्फोटको कुनै पनि प्रमाण फेला परेन । ‘पेट्रोल खन्याएर आफैंले शरीरमा आगो लगाएको घटना रहेछ । तर, सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको भनेर प्रहरीलाई नै ढाँट्ने काम भयो । प्रहरीले घटनास्थलमा गएर हेर्दा विस्फोट भएको हैन रहेछ । विस्फोटको कुनै पनि प्रमाण फेला नपरेपछि थप सोधपुछ गर्ने क्रममा वास्तविक घटनाको बारेमा थाहा भयो,’ डीएसपी लामिछानेले भने ।
उनका अनुसार सामान्य परिवारिक विवादका क्रममा निर्मलाले शरीरमा आगो लगाएको पाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।