विराटनगर । विराटनगरको रंगे
ली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई पुरस्कृत गरेको छ ।
सोमबार कलेज प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच बोर्ड परीक्षा, आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
शैक्षिक सत्र २०८२ को कक्षा १२ को परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल प्रथम हुन सफल विद्यार्थीद्वय रीतिमा कठेत र राजीव कुमार यादवलाई जनही नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार विभिन्न विधामा उत्कृष्ट हुने करिब २५० जना विद्यार्थीहरूलाई कुल ५ लाख रुपैयाँभन्दा बढीको पुरस्कार वितरण गरिएको छ ।
त्यसैगरी, कलेजले ‘रेगुलारिटी अवार्ड’ (नियमितता पुरस्कार), अनुशासित विद्यार्थीहरूलाई ुडिसिप्लिन अवार्ड र कक्षा ११ को विज्ञान तथा व्यवस्थापन संकायको प्रवेश परीक्षामा उत्कृष्ट हुने नव–आगन्तुक विद्यार्थीहरूलाई पनि सम्मान गरेको छ ।
शिक्षकहरूको योगदानको कदर गर्दै कलेजले एक दिन पनि बिदा नलिई नियमित अध्यापन गराउने ८ जना शिक्षकहरूलाई एक महिनाको थप तलब बराबरको रकमसहित पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने शिक्षकहरूमा टंक कोइराला, यादव प्रधान, गणेश दाहाल, प्रमोद मण्डल, ईश्वरी गौतम, चिरञ्जीवी कोइराला, दिलीप शर्मा र आलमगीर रैन रहेका छन् ।
यस्तै, कलेजमा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेका ५ जना शिक्षकहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा पंकज कुमार जैन, टंकनाथ कोइराला, सीता भट्टराई, विनोद कुमार मण्डल र दिलीप कुमार सरदार रहेका छन् ।
विद्यार्थी तथा शिक्षकहरूलाई कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशकहरू प्रा.डा. पी.के. झा, डा. मनोज गुप्ता, भेषराज पोखरेल, नन्द किशोर अग्रवाल, प्रदीप भगत, डा. शिवनारायण यादव र जयराज राजवंशीले पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कलेजका निर्देशक भेषराज पोखरेलले मेरिल्याण्ड कलेज दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित भएको र यहाँबाट उत्पादित जनशक्तिले विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको बताए । यस्तै, प्रिन्सिपल लक्ष्मण ढकालले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरणकै कारण मेरिल्याण्ड अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको उल्लेख गरे ।
हाल यस कलेजमा १८ सय ३७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । मेरिल्याण्ड कलेज व्यवस्थापन र विज्ञान संकायको लागि अब्बल कलेजको रुपमा परिचित रहेको छ ।
