काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले सरकारलाई विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पूर्ण पालना गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले बालेन्द्र साह नेतृत्वप्रति लक्षित गर्दै शासन सञ्चालनमा कानुन र विधिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। “केवल घण्टा बजाएर मात्र जिम्मेवारी पूरा हुँदैन,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार कुनै पनि व्यक्तिमाथि छानबिन गर्दा आग्रह वा पूर्वाग्रहका आधारमा नभई ठोस कानुनी तथ्य र प्रमाणका आधारमा अघि बढ्न आवश्यक छ। यसरी मात्रै न्यायिक प्रक्रिया निष्पक्ष र विश्वसनीय बन्न सक्ने उनको भनाइ छ। बास्कोटाले नेपाली समाजका मौलिक मूल्य–मान्यताप्रति सचेत रहन पनि सरकारलाई आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा महिलाप्रति संवेदनशील व्यवहार गर्नुपर्नेमा उनले जोड दिएका छन्।
विधिको शासन, मानवअधिकार र सामाजिक मूल्य–मान्यताको सन्तुलन कायम राख्दै अघि बढे मात्रै सुशासन स्थापना हुन सक्ने उनको धारणा छ।
