‘मेरी बास्सै’की अप्सरा आमाको अन्त्येष्टि, श्रद्धाञ्जली अर्पण गर्दै कलाकारको उपस्थित

विराटनगर । चर्चित हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ बाट ‘अप्सरा आमा’को भूमिकामा घरघरमा चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि सम्पन्न गरिएको छ। श्रेष्ठको आज बिहान काठमाडौंको पशुपति आर्यघाटमा नेपाली झन्डासहित सम्मानपूर्वक दाहसंस्कार गरिएको हो।

श्रेष्ठको निधन शुक्रबार राति क्यान्सरका कारण भएको थियो। उनी विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन्।

उनको अन्तिम बिदाईमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत नेपाली कला क्षेत्रमा योगदान दिने थुप्रै स्रष्टाहरू उपस्थित थिए।

लक्ष्मी श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’ र ‘हिजो आजका कुरा’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। ‘मेरी बास्सै’ मा उनले सिताराम कट्टेल (धुर्मुस) द्वारा निभाइएको ‘खड्का ज्यू’को श्रीमती ‘अप्सरा’को भूमिकामा अभिनय गरेपछि उनी दर्शकमाझ निकै लोकप्रिय बनेकी थिइन्।

श्रेष्ठको निधनले नेपाली हास्य तथा टेलिभिजन क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ। नेपाली कला क्षेत्रले उनको योगदानलाई सदैव सम्झिरहनेछ।