कर्मचारीतन्त्र सुधारका लागि दलहरूसँग सहयोग माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कार्यगतिलाई प्रभावकारी बनाउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको बताएका छन्। उनले प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदसँग सुधार प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित सांसदहरूसँग विकास निर्माण तथा क्षेत्रीय समस्याबारे भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्।

छलफलमा दार्चुलाबाट प्रतिनिधिसभा सदस्य तथा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले वर्तमान कर्मचारीतन्त्रले सरकारको अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै सुधार आवश्यक रहेको बताएका थिए। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कर्मचारीतन्त्रलाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताएका हुन्। ठगुन्नाका अनुसार प्रधानमन्त्री शाहले कर्मचारीतन्त्र सुधारका लागि प्रमुख दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्। उनले आफ्नो सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको पनि जानकारी दिए।

यस्तै, नेकपा एमालेका अर्का सांसद ऐनबहादुर महरले सरकारले राजनीतिक प्रतिशोधका आधारमा काम गर्न नहुने सुझाव दिएका छन्। छलफलमा सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रदेशगत रूपमा सांसदहरूसँग विकासको वास्तविक अवस्थाबारे छलफल सुरु गरिएको पनि बताएका छन्।

छलफल मुख्यतः प्रदेश र जिल्लास्तरका विकास आयोजनामा केन्द्रित रहेको थियो। सांसदहरूले सेती जलविद्युत् आयोजना, कैलाली–दीपायल सडक, सेती लोकमार्ग, सिँचाइ, शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा हवाई सेवाको सुधारजस्ता विषय उठाएका थिए। यसैगरी महाकाली करिडोर र दार्चुला–टिंकर सडकलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गरिने र थप समस्याहरू सचिवालयमा टिपाउन आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित १६ सांसदमध्ये १४ जना उक्त छलफलमा सहभागी थिए। दीपक बोहरा र भरत शाह भने उपस्थित थिएनन्। यसअघि प्रधानमन्त्री शाहले कोसी र कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।