आज देशका धेरै स्थानमा वर्षा र चट्याङको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुनसक्ने

विराटनगर । देशभर मनसुनी वायुको सक्रिय प्रभाव जारी रहेका कारण आज विभिन्न स्थानमा हल्कादेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।

रातिको मौसम पनि बदली हुने विभागले जनाएको छ। राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, र अन्य प्रदेशका केही स्थानमा समेत मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसबाहेक, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मौसम अझै केही दिन यस्तै रहने संकेत विभागले दिएको छ। यस कारण पहाडी र नदी आसपासका क्षेत्रहरूमा पहिरो, बाढी र डुबानको जोखिम पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।