प्रतिनिधिसभाको पहिलो बैठक आज, रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानअनुसार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

आज बस्ने पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। संसदीय अभ्यासअनुसार पहिलो बैठकमा प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने प्रचलन छ। यस्तै, अन्य दलका नेताहरूले पनि बैठकमा आ–आफ्नो धारणा राख्ने तयारी गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूलाई सम्बोधनका लागि सात मिनेट मात्र समय दिइएको बताएका छन्।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले हालसम्म सम्बोधनका लागि समय माग गरेका छैनन्। यद्यपि, प्रधानमन्त्रीले सम्बोधन गर्न चाहेमा समय व्यवस्थापन गरिने बताइएको छ।