पुल भाँचिँदा वैकल्पिक सडकमार्ग पूर्णरूपमा अवरुद्ध

विराटनगर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा रहेको एक पुरानो पुल भाँचिएपछि नाला–च्यामासिङ सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। यो सडक राजधानी काठमाडौं प्रवेश गर्ने पूर्वी वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो।

स्थानीय शान्तलाल श्रेष्ठका अनुसार, गएराति एक मालबाहक गाडी पुल पार गरेलगत्तै उक्त विसं २०३७ मा निर्माण गरिएको पुल अचानक भाँचिएको हो। पुल भाँचिएपछि बनेपा र भक्तपुर हुँदै चल्ने सवारी आवागमन तत्काल रोकिएको छ।

हाल अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्डमा सडक विस्तार भइरहेकाले, पछिल्ला दुई वर्षदेखि अधिकांश सवारीसाधनले यही नाला–च्यामासिङ वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए।

पुल भाँचिएपछि भक्तपुरबाट आउने सवारीलाई रोकिने निर्देशन दिइएको छ भने बनेपाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई समेत रोकिएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूका अनुसार अवरुद्ध सडक खण्ड अस्थायी रूपमा सञ्चालन गर्ने विषयमा सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको छ। तत्काल वैकल्पिक व्यवस्था नगरेसम्म सवारी सञ्चालन कठिन हुने उनको भनाइ छ।

पुल मर्मत वा नयाँ संरचना निर्माण नहुँदासम्म पूर्वी पहाडी क्षेत्र, भक्तपुर र काभ्रेपलाञ्चोक हुँदै राजधानी प्रवेश गर्ने यात्रु तथा यातायात व्यवसायीलाई थप सास्ती हुन सक्ने देखिएको छ।