काठमाडौँ । काठमाडौँ महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले राति ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुहरू महँगो यात्रा गर्न बाध्य भएको अवस्थालाई सुधार गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्। उनले सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूलाई समस्या परेको उल्लेख गर्दै सुरक्षित र सुलभ विकल्प उपलब्ध गराउने उद्देश्य रहेको बताइन्।
महानगरपालिकाका अनुसार सेवा दुई प्रमुख रुटमा सञ्चालन हुनेछ। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ। दोस्रो रुट थानकोटदेखि सुरु भई सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।
यी दुई रुटमा ४ वटा विद्युतीय बस सञ्चालन गरिनेछन्। बस सेवा राति ८ बजेदेखि ११ बजेसम्म उपलब्ध हुनेछ भने हरेक २० मिनेटमा बस सञ्चालन हुने जनाइएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ र नगर प्रहरीको व्यवस्था समेत रहनेछ।
