काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा अहिले सत्तापक्षविहीन अवस्थामा पुगेको छ। भदौमा भएको जेनजी आन्दोलनपछि तल्लो सदन प्रतिनिधिसभा विघटन भएको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक बहुमत ल्याउँदै बालेन शाह को नेतृत्वमा सरकार गठन गरिसकेको छ। प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद्को अस्थायी भवनमा बस्ने तय भएको छ। तर स्थायी सदन मानिने राष्ट्रियसभामा भने पुराना दलहरू जस्तै नेपाली कांग्रेस, नेकपा एमाले लगायतको उपस्थिति रहेको भए पनि सत्तारूढ रास्वपाको एक सिट पनि छैन।
यसैबीच, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले रिक्त रहेको एक सिटमा निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल लाई सिफारिस गरेको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेल ले उक्त सिफारिसलाई हालसम्म होल्डमा राखेका छन्।
