काठमाडौं । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन्। सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा ती एप तथा वेबसाइट बन्द गरेको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने का अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी प्लेटफर्महरू पहिचान गरी बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो। उनले भने, “हालसम्म ७ हजारभन्दा बढी युआरएल र एप बन्द भइसकेका छन्। पछिल्लो एक सातामा मात्रै टेलिफोन, इमेल र म्यासेजमार्फत ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ।”
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ। सोहीअनुसार प्राधिकरणले विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका यस्ता सबै पहिचान भएका प्लेटफर्म तुरुन्त बन्द गरेको हो। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(४) अनुसार सट्टेबाजी गर्न वा गराउन निषेध गरिएको छ। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुने र एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यसैगरी विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा वा सट्टेबाजीसम्बन्धी गतिविधि प्रोत्साहन गर्ने विज्ञापन गर्न प्रतिबन्ध लगाएको छ। यसविपरीत कार्य गरेमा पनि एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ। सरकारले सर्वसाधारणलाई यस्ता सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न पुनः आग्रह गरेको छ। अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै शंकास्पद एप वा वेबसाइटबारे जानकारी भए सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरिएको छ।
