सरकारी कार्यालयको समय परिवर्तन, सोमबारदेखि ९–५ सेवा

काठमाडौं । नेपाल सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूको कार्यसमय परिवर्तन गर्दै आज (सोमबार)देखि नयाँ समय तालिका लागू गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको हो। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। सरकारले यो व्यवस्था आजदेखि नै लागू भएको जनाएको छ। साथै, शनिबार र आइतबार साप्ताहिक बिदा रहने निर्णय यथावत् राखिएको छ। मौसमी अवस्थालाई ध्यानमा राख्दै सरकारले कार्यसमय निर्धारण गरेको जनाएको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिनेछ। चिसो मौसममा सेवाग्राही र कर्मचारी दुवैलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको हो। सरकारको यो निर्णयले सरकारी सेवा प्रवाहमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखि विभिन्न सरकारी निकायमा फरक–फरक समय तालिका हुँदा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आइरहेको थियो।

नयाँ समय तालिका लागू भएसँगै देशभरका सरकारी कार्यालयहरूमा एउटै कार्यसमय कायम हुने भएकाले सेवा लिन आउने नागरिकलाई थप सहज हुने विश्वास सरकारको छ।