हुलाक सेवा ‘एक्सप्रेस वे’मार्फत कुरियर, सार्वजनिक बिदामा पनि सेवा उपलब्ध

काठमाडौँ । हुलाकमार्फत विदेश पठाइने तथा विदेशबाट आउने मालवस्तुको जाँचपास अब ‘एक्सप्रेस वे’मार्फत गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीचको समन्वयमा कुरियर सेवालाई द्रुत, सुरक्षित र व्यवस्थित बनाउन ‘एक्सप्रेस वे’ प्रणाली लागू गर्न लागिएको हो। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार यो व्यवस्था लामो तयारीपछि कार्यान्वयनमा ल्याउन लागिएको हो। उनका अनुसार अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै ‘डेडिकेटेड’ जाँचपास प्रणाली निर्माण गरिनेछ, जसले वस्तु ढुवानीलाई अझ छिटो र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

यससँगै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आएका वस्तु छुटाउने व्यवस्था मिलाइएको छ। यसअघि गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट बिदाका दिन सेवा दिइए पनि भन्सार र बैंक नखुल्दा जाँचपासमा समस्या हुने गरेको थियो। अन्तरनिकाय समन्वय अभावका कारण सेवा प्रभावित भएको गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरी बिदाका दिन पनि सहज सेवा दिने प्रक्रिया अघि बढाएको हो। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले यस सम्बन्धमा आवश्यक निर्देशन दिइसकेको बताएका छन्।

पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवा बढ्दै गएको छ। विभागका अनुसार सेवा सुधारका प्रयासअन्तर्गत गत फागुन महिनामा मात्रै गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत १९ हजार २०० भन्दा बढी आयातित वस्तु र करिब ११ हजार ७०० निर्यातित वस्तु कारोबार भएका छन्। यसबाट करिब २९ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व सङ्कलन भएको छ। हुलाक कुरियरमा ‘एक्सप्रेस वे’ सञ्चालन र सार्वजनिक बिदामा समेत सेवा उपलब्ध गराउँदा सेवाग्राहीलाई सहजता मिल्नुका साथै सेवा प्रवाहको गुणस्तर र कार्यालयको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।