काठमाडौँ।देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने तयारी गरेको छ। मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त प्रणालीको कार्यान्वयन तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। प्रस्तावित प्रणालीमार्फत मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका जिल्लास्थित इकाइहरूसँग एकैपटक सिधा सम्पर्क कायम गर्न सक्नेछ। यसले सूचना आदान–प्रदानलाई तीव्र बनाउनुका साथै संवेदनशील क्षेत्रको प्रत्यक्ष अनुगमन सहज बनाउने अपेक्षा गरिएको छ। बैठकमा गृहमन्त्री गुरुङले प्रविधिको प्रभावकारी प्रयोगमार्फत शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, अब सर्वसाधारणले प्रहरीमा दर्ता गरेका उजुरी तथा जाहेरीको प्रगति विवरण समय–समयमा फोन, एसएमएस र इमेलमार्फत प्राप्त गर्ने व्यवस्था गरिने भएको छ। “जनताले उजुरी दिएपछि प्रगति बुझ्न कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न यो व्यवस्था लागू गर्न लागिएको हो,” गृहमन्त्री गुरुङले बताए। नेपाल प्रहरीले यस सम्बन्धमा मातहतका निकायलाई निर्देशन दिइसकेको छ। साथै, यसको साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न र क्रमशः अन्य निकायमा पनि विस्तार गर्न निर्देशन दिइएको छ। त्यसैगरी, गृह मन्त्रालय तथा अन्तर्गतका निकायमा जनगुनासो सुनुवाइलाई प्रभावकारी बनाउन ‘कल सेन्टर’ स्थापना गरिने भएको छ। बैठकले सबै कार्यालय प्रमुखलाई गुनासो सम्बोधनका लागि विद्यमान संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाउन निर्देशन दिएको छ।
गृहमन्त्री गुरुङले पदभार ग्रहणका क्रममा व्यक्त गरेको ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ को प्रतिबद्धता पुनः दोहोर्याउँदै सो नीति तल्लो तहसम्म कार्यान्वयन गर्न जोड दिएका छन्। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहमन्त्रीले सुधारका काम ‘भोलि होइन, आजै र अहिल्यै’ सुरु गर्न कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
