उपसभामुख चयनका लागि चैत २७ मा निर्वाचन हुने

काठमाडौं । यही चैत २७ गते उपसभामुखको निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन मिति तय गरिएको जानकारी दिएका हुन्। यसअघि चैत २२ गते सभामुखको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुखले तोकेको दिन र समयमा उपसभामुखको निर्वाचन हुने भएकाले अर्यालले चैत २७ गतेको मिति निर्धारण गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गका हुनुपर्ने प्रावधान छ। तर, प्रतिनिधिसभामा एउटै दलको मात्र प्रतिनिधित्व भएको वा एकभन्दा बढी दल भए पनि एकल उम्मेदवारी परेको अवस्थामा दुवै पद एउटै दलको हुन सक्ने व्यवस्था पनि रहेको छ।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ दलको प्रतिनिधित्व रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्। यस अवस्थाले उपसभामुखको निर्वाचनमा रास्वपाको समर्थन निर्णायक रहने देखिएको छ।