विपक्षी दलहरू प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिने तयारीमा

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दलहरूले आन्तरिक छलफलमार्फत उम्मेदवारीबारे निर्णय गर्ने प्रक्रियामा छन्। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीका अनुसार, “संविधानको मूल मर्म अनुसार सभामुख र उपसभामुख एउटै पार्टीका हुन हुँदैन। हामीले सभामुखमा सर्वसम्मत रूपमा सहमति दिएका छौं, अब सत्तापक्षले विपक्षीलाई दिएर सहमतिमा ल्याउने प्रयास गर्नेछ।”

केसीले औपचारिक निर्णय अहिलेसम्म भएको नभएको पनि जानकारी दिए। विपक्षी दलहरूले उपसभामुखमा को उम्मेदवारी दिने भन्ने विषयमा अझै आन्तरिक छलफल गरिरहेका छन्। संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख मनोनयनको कार्यतालिका तोकेको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने घोषणा बुधबारको बैठकमा गरेका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमतमा रहेको हुँदा उसले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख हुने निश्चित छ।