प्रतिनिधिसभाको उपसभामुख निर्वाचन आज सुरु, रास्वपाको समर्थन कुन दललाई?

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख निर्वाचन प्रक्रिया आज (चैत २६) देखि सुरु भइसकेको छ। दिउँसो २ बजेसम्म मनोनयन दर्ता खुला रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल सभामुख रहेका कारण उपसभामुख अर्को दलबाट चयन गर्नुपर्नेछ। संसद्मा १८१ सिटसहित रास्वपाले समर्थन गर्ने दलको महिला सांसद नै उपसभामुख हुने निश्चित छ।

रास्वपा स्रोतका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको छलफल लगभग पूरा भएको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समानान्तर रूपमा छलफल जारी छ। रास्वपाका एक नेताका अनुसार, “जनतासम्म सकारात्मक सन्देश दिने हिसाबले हामीले समर्थन दिने तयारी गरेका छौं। तर अहिलेसम्म टुंगो लागेको छैन।”

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भने, “हामीलाई अहिलेसम्म रास्वपाबाट कुनै जानकारी आएको छैन। यदि बहुमत प्राप्त दलको समर्थन नहुने हो भने हामी उम्मेदवारी दिंदैनौँ।” उपसभामुखका उम्मेदवारहरूको नामावली दिउँसो साढे २ बजे प्रकाशित हुने तालिका तय गरिएको छ।