विराटनगर २६ चैत । विराटनगरमा भोलिदेखि पाँचौं संस्करणको इक्युवालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । विहान साढे ९ वजे हुने उद्घाटन खेलमा विराटनगर हब र एनसीएफ ११ वीच प्रतिष्पर्धा हुने भएको छ ।
चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका ४ चार टिमको सहभागिता हुने आयोजक नेपाल क्रिकेट फाउन्डेसनले आज प्रतियोगिता हुने स्थान विराटनगर ६ मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब र पथरी, इटहरी, धनकुटा र उदयपुर सम्मिलित एनसीएफ ११ र मधेश प्रदेशबाट राजविराज र सिरहावीच प्रतियोगिता हुने आयोजक नेपाल क्रिकेट फाउन्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुले जानकारी दिनुभयो ।
भुइँतह तथा महिला क्रिकेट विकासका लागि ५ वर्षदेखि लगातार प्रतियोगिता आयोजना हुँदै आएको उहाँले बताउनुभयो । हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवसका समयमा प्रतियोगिता हुने गरेपनि यस वर्ष निर्वाचनका कारण पछि सारिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा हरेक टिमले एक अर्कासँग खेल्ने छन् । शिर्ष स्थानका दुई टिमवीच फाईनल खेल हुने छ । प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने नेपाल क्रिकेट फाउन्डेसनका अभिनव यादवले बताउनुभयो । उहाँले हरेक दिन दुई खेल हुने बताउनुभयो । पहिलो खेल विहान साढे ९ र दोश्रो खेल दिउँसो साढे १ वजे हुने छ । 

