गाजा युद्धमा मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो, २४ घण्टामा मात्रै १३८ जनाको ज्यान गयो

विराटनगर । हमास र इजरायलबीचको जारी द्वन्द्वमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीहरूको संख्या ५७,२६८ पुगेको छ। गाजाका स्वास्थ्य अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार घाइतेको संख्या १,३५,६२५ पुगेको छ।

यो वर्षको मार्च १८ यता मात्र ६,७१० जनाको मृत्यु भएको छ भने २३,५८४ जना घाइते भएका छन्।

विगत २४ घण्टामा मात्र १३८ जनाले ज्यान गुमाएका छन्। अधिकारीहरूका अनुसार तीमध्ये ६२ जना मानवीय सहायता प्राप्त गर्न प्रयास गर्दा मारिएका थिए।

शुक्रबार बिहानदेखि इजरायली आक्रमणका कारण कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि पुष्टि गरिएको छ।

गाजामा पछिल्ला दिनहरूमा इजरायली आक्रमण थप तीव्र बनेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामको माग चर्किंदै गएको छ। तर हालसम्म युद्ध अन्त्यका प्रयासहरू प्रभावकारी बन्न सकेका छैनन्।