काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवा निरन्तर राख्न आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई असुविधा नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई अनुरोध गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू हुने भएको छ। सोही सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइराख्न मन्त्रालयले नयाँ कार्यविधि अघि सारेको जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालहरूले आइतबार आफ्नो कार्यबोझ (वर्कलोड) र उपलब्ध जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। यसरी आइतबार काम गर्ने स्वास्थ्यकर्मीलाई शनिबारबाहेक हप्तामा अर्को एक दिन बिदा दिने व्यवस्था मिलाउन भनिएको छ। साथै, कुनै कारणवश बिदा दिन नसकिए सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।
