औषधि मूल्यवृद्धि सम्बन्धी छानबिन गर्न स्वास्थ्य सचिवलाई आदेश

काठमाडौँ । औषधिको मूल्य बढाएको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य मन्त्री निशा मेहतास्तरीय निर्णयअनुसार ढकाललाई बिहीबार राति मन्त्रालयमा तानिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले औषधि मूल्यवृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि उक्त कदम चालिएको हो। प्रधानमन्त्री कार्यालयले यस सम्बन्धमा तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न स्वास्थ्य सचिव विकास देवकोटालाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा मन्त्रालयलाई सात दिनभित्र प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। निर्देशनमा औषधिको मूल्यवृद्धि कसरी भयो, मूल्य निर्धारण प्रक्रिया के हो र अनियमिततामा को–को संलग्न छन् भन्ने स्पष्ट विवरणसहित प्रतिवेदन पेस गर्न भनिएको छ।

यसअघि पनि औषधिको अनधिकृत मूल्यवृद्धिको विषय प्रतिनिधिसभामा उठेको थियो। बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधि क्षेत्रमा गम्भीर अनियमितता र अरबौँ रुपैयाँको घोटाला भएको आशंका व्यक्त गरेका थिए। सांसद खत्रीले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मान्दै औषधि व्यवस्थापनमा व्यापक अनियमितता भएको दाबीसमेत गरेका थिए।